दलित कोटामा गैरदलित सिफारिस र बाके घटनामा कारबाही माग गर्दै दलित आयोगमा ज्ञापनपत्र

काठमाडौँ : मधेशी दलितको कोटामा गैरदलितलाई सिफारिस गरिएको तथा बाके जिल्लामा गैरन्यायिक प्रहरी हिरासतमा गुरु चरण चमारको हत्या भएको घटनामा छानबिन र कारबाहीको माग गर्दै चमार कल्याण समाज नेपालले राष्ट्रिय दलित आयोगमा ज्ञापनपत्र बुझाएको छ।

चमार कल्याण समाज नेपालका केन्द्रीय अध्यक्ष दिनेश चमार र नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय सचिव प्रथमलाल रामले संयुक्त रूपमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज बी.के.लाई ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्रमा नेपाल सरकार अन्तर्गतको चिकित्सा शिक्षा आयोगले ३० डिसेम्बर २०२५ मा सार्वजनिक गरेको स्नातक तहको छात्रवृत्तिको दोस्रो चरणको म्याचिङ नतिजामा मधेशी दलित कोटाबाट गैरदलित समुदायका रुपेश कुमार साह (हलुवाई)लाई सिफारिस गरिएकोप्रति गम्भीर आपत्ति जनाइएको छ।

हलुवाई मधेशी दलित समुदायमा नपर्ने स्पष्ट उल्लेख गर्दै दलित कोटामा गैरदलितलाई सिफारिस गर्नु संविधान र कानुन विपरीत भएको चमार कल्याण समाजको ठहर छ। उक्त नाम तत्काल खारेज गरी सो स्थानमा योग्य मधेशी दलित वा दलित समुदायका विद्यार्थीलाई सिफारिस गर्न तथा यस प्रक्रियामा संलग्न कर्मचारी र उम्मेदवारमाथि कडा कारबाही गर्न माग गरिएको छ।

दलित कोटामा फर्जी कागजात प्रयोग गरी गैरदलितले अवसर लिने प्रवृत्ति देशभर बढ्दै गएको उल्लेख गर्दै यसले विधिको शासन र सामाजिक न्यायमाथि गम्भीर चुनौती दिएको जनाइएको छ।

यसैगरी, ज्ञापनपत्रमा सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका–७ हरिपुरकी १८ वर्षीया पूजा कुमारी राम (चमार)लाई बलात्कारपछि हत्या गरिएको घटनामा एक वर्ष बितिसक्दा पनि दोषी पक्राउ नपरेकोप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। पीडित परिवार हालसम्म डर र त्रासमा बाँच्न बाध्य रहेको उल्लेख गर्दै आयोगले तत्काल चासो लिई दोषीलाई कारबाही र पीडित परिवारलाई न्याय दिलाउन पहल गर्न माग गरिएको छ।

चमार कल्याण समाज नेपालले दलित समुदायमाथि भइरहेका संरचनागत अन्याय, विभेद र दण्डहीनताको अन्त्यका लागि संवैधानिक निकायहरूले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छ।

9:05 pm प्रकाशित

धेरै पढिएको

ताजा समाचार