शम्भु बि.क.
कपिलवस्तु । बिजयनगर गाउँपालिकाको आयोजना तथा रुम टु रीड र पिस नेपालको समन्वयमा सञ्चालन भएको एकीकृत पाठ्यक्रमसम्बन्धी पाँच दिने कस्टमाइज्ड तालिम आज सफलतापूर्वक सम्पन्न भएको छ । गाउँपालिकाभित्र रहेका सामुदायिक तथा धार्मिक विद्यालयका कक्षा १ देखि ३ मा अध्यापनरत ४४ जना शिक्षकको सहभागितामा सम्पन्न तालिममा एकीकृत पाठ्यक्रमको अवधारणा, शिक्षण विधि, शैक्षिक सामग्रीको उपयोग, विषय क्षेत्र तथा व्यवहार–कुशल सीप, निरन्तर विद्यार्थी मूल्यांकनदेखि ग्रेडसिट तयारीसम्मका विषयमा विस्तृत रूपमा प्रशिक्षण प्रदान गरिएको थियो ।
तालिममा रुम टु रीडका कार्यक्रम अधिकृत दिलबहादुर धामी, पिस नेपालका कार्यक्रम अधिकृत देवबहादुर मगर, देवराज चौधरी , लक्ष्मी अधिकारी र शिव कुमार चौधरीले सहजीकरण गर्नुभएको थियो ।
सहभागी शिक्षकहरू तालिमप्रति अत्यन्त उत्साहित देखिएका थिए । सहभागी हरिकला क्षेत्रीले तालिम निकै रमाइलो, रोचक र सिकाइमैत्री रहेको उल्लेख गर्दै सिकेका सीप विद्यार्थीमा लागू गर्न उत्सुक रहेको बताउनुभयो । त्यस्तै सहभागी शम्भु बि.क.ले आफूहरूले प्रयोग गर्दै आएको शिक्षण विधि, सामग्री र क्रियाकलापमा सुधार गर्नुपर्ने महसुस भएको बताउँदै तालिमले सिकाइ सहज बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा बिजयनगर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले शिक्षकहरूले तालिममा सिकेका कुराहरू कन्जुस्याइँ नगरी विद्यालयमा लागू गर्न आग्रह गर्नुभयो । उहाँले तल्लो कक्षाबाटै राम्रो आधार तयार भए उच्च कक्षामा सिकाइ सहज हुने र शैक्षिक स्तर उकासिने बताउनुभयो ।
कार्यक्रमकी अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले तालिमले विद्यार्थीहरूको सिकाइमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले शिक्षामा क्रमिक सुधारका लागि यस किसिमका तालिम आवश्यक रहेको बताउनुभयो ।
शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख हरिहर बेल्वासेले तालिममा सिकाइएका सबै पद्धति र गतिविधिहरू विद्यालयमै कार्यान्वयन गर्न शिक्षकहरूलाई निर्देशन दिनुभएको थियो । कक्षा १ देखि ३ सम्मका सबै पिरियडमा सिकाइका उपायहरू प्रयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
तालिममा योगदान पुर्याउने सहजीकरण टोलीका सदस्यहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । सहभागी शिक्षकहरूले तालिम अत्यन्त उपयोगी भएको, सिकेका कुराहरू व्यवहारमा लागू गर्ने र शिक्षा शाखाले आगामी दिनमा यस्ता थप तालिमको व्यवस्था गरिदिनुपर्ने माग राखेका छन् ।


