कपिलवस्तु, बिजयनगर ।
बिजयनगर गाउँपालिकामा जन्मिएका सन्तोष गुप्ता आज व्यवसाय र समाजसेवामा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन्। बाल्यकालदेखि नै अध्ययनमा अब्बल र व्यवहारमा शिष्टतायुक्त व्यक्तित्वका रूपमा परिचित गुप्ता अहिले स्थानीय स्तरमै मात्र नभई जिल्लाभरि अनुकरणीय प्रेरणा बनेका छन्।
उनले व्यक्तिगत सफलता भन्दा पनि सामूहिक उत्थानलाई लक्ष्य बनाएर व्यवसायिक यात्रा सुरु गरे। यसै क्रममा उनले बिजयनगर कन्स्ट्रक्सन स्थापना गरी निर्माण क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै जेसिबी, ट्र्याक्टर, टिप्पर लगायतका आधुनिक उपकरणमार्फत २० भन्दा बढी युवालाई रोजगारीको अवसर उपलब्ध गराइरहेका छन्।
व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्त्व दिने गुप्ताले स्थानीय पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्याएका छन्। मन्दिर, गुम्बा, सडक, नाली तथा ढल व्यवस्थापन जस्ता कार्यमा सक्रिय भूमिका खेल्दै उनले समाजलाई प्रत्यक्ष लाभ दिलाएका छन्।
शिक्षा र स्वास्थ्यप्रति संवेदनशील रहँदै गुप्ताले श्री दुधाधारी नमुना माध्यमिक विद्यालय, गुगौलिलाई ५० हजार रुपैयाँ बराबरको शुद्ध खानेपानी मेसिन प्रदान गरेका छन्। यसबाट सयौं विद्यार्थीलाई स्वच्छ पिउने पानीको सुविधा प्राप्त भएको छ, जुन कार्यले उनको दूरदर्शी सोच र समाजसेवाप्रतिको समर्पणलाई प्रष्ट पार्छ।
युवावस्थामै सफल व्यवसायी, सामाजिक अभियन्ता र प्रेरणादायी व्यक्तित्वको रूपमा स्थापित सन्तोष गुप्ता आज गाउँ–शहरको दिगो विकासमा महत्वपूर्ण योगदान दिँदै युवाहरूमाझ “परिश्रम, इच्छाशक्ति र सकारात्मक सोचले सबै कुरा सम्भव छ” भन्ने सन्देश फैलाइरहेका छन्।


