शम्भु बि.क.
कपिलवस्तु ।
विजयनगर गाउँपालिका–१ कुकुरभुकवा र नेवलगन्जा बीचको सडकखण्डमा विपरीत दिशाबाट आउँदै गरेका दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ।
आज करिब साँझ ४:४५ बजेको समयमा भएको उक्त दुर्घटनामा भारत, बलरामपुर जिल्ला चन्दनपुर गाउँ निवासी अर्पण थारु चालक रहेको भारतीय मोटरसाइकल (यु.पी. ४७ एच ७७०९) मा सवार तीन जना घाइते भएका छन्। मोटरसाइकलमा सवार नौमिक थारु र रमन थारु पनि दुर्घटनामा परेका हुन्।
त्यसैगरी, नेपाली मोटरसाइकल नम्बर लु ६४ पा २५९ चालक शिवराज नगरपालिका–९ निवासी भिखुराम चौधरी पनि रहेका छन्।
दुर्घटनामा भारतीय मोटरसाइकल चालक अर्पण थारु र सवार दुई जनाको घुँडामा चोट लागेकाले उनीहरूलाई प्रारम्भिक उपचारका लागि बद्दौर आधारभूत अस्पताल लगिएको थियो। थप उपचारका लागि उनीहरूलाई चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पताल रेफर गरिएको छ।
नेपाली मोटरसाइकल चालक भिखुराम चौधरीलाई भने सामान्य चोट लागेको अस्थायी प्रहरी पोस्ट खडैचाका इन्चार्ज खिम बगालेले जानकारी दिनुभएको छ।
घाइते भिखुराम चौधरी नेवलगन्जस्थित आधारभूत विद्यालयमा शिक्षकका रूपमा कार्यरत रहेको बताइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


