गुरु रबिदास जन्मजयन्तीमा सार्वजनिक बिदा र दलित सशक्तिकरणका विषयमा मुख्यमन्त्रीसँग छलफल

मधेश प्रदेशका मुख्यमन्त्री मा. कृष्ण यादवसंग गुरु रबिदास जीकाे जन्मजयन्तीको अवसरमा सार्वजनिक बिदा घोषणा, दलित विकास समिति तथा दलित सशक्तिकरण ऐनको प्रभावकारी कार्यान्वयन, जातीय विभेद अन्त्य गर्न प्रदेश सरकारले खेल्नुपर्ने भूमिकालगायतका विषयमा छलफल भएको छ।

छलफलमा सारा नेपाली चमार समुदायको साझा संगठन चमार कल्याण समाज नेपालका राष्ट्रिय अध्यक्ष दिनेश चमारसहित विभिन्न पदाधिकारीहरूको सहभागिता रहेको थियो। भेटघाटका क्रममा गुरु रबिदास जीकाे योगदान र उहाँको जन्मजयन्तीलाई प्रदेशस्तरमा सम्मानपूर्वक मनाउनुपर्ने आवश्यकतामाथि जोड दिइएको थियो।

त्यसैगरी, दलित समुदायको समग्र विकास, अधिकार सुनिश्चितता र सामाजिक न्यायका लागि गठन भएका संरचनाहरूलाई अझ प्रभावकारी बनाउनु पर्ने विषयमा पनि गम्भीर छलफल भएको अध्यक्ष चमारले जानकारी दिनुभयो। जातीय विभेदका घटनाहरू अझै पूर्ण रूपमा अन्त्य हुन नसकेको सन्दर्भमा प्रदेश सरकारले नीतिगत, कानुनी तथा व्यवहारिक रूपमा अग्रसर भूमिका खेल्नुपर्ने माग छलफलमा उठाइएको थियो।

मुख्यमन्त्री यादवले दलित समुदायका जायज मागप्रति प्रदेश सरकार संवेदनशील रहेको बताउँदै समावेशी विकास, समानता र सामाजिक सद्भाव कायम गर्न सरकार प्रतिबद्ध रहेको धारणा राख्नुभएको थियो। उहाँले उठाइएका विषयहरूलाई गम्भीरतापूर्वक अध्ययन गरी आवश्यक पहल गर्ने आश्वासन पनि दिनुभएको जनाइएको छ।

9:21 pm प्रकाशित

धेरै पढिएको

ताजा समाचार