कपिलवस्तु, फागुन १५
कपिलवस्तु नगरपालिका वडा नम्बर ३ जमोहरा स्थित श्री राधाचन्द्र आधारभूत बिद्यालयलाई नवनिर्मित पानी ट्याङकी हस्तान्तरण गरिएको छ । बिद्यार्थीहरुका लागि स्वच्छ खानेपानीको सहजताका लागि एकलाख बढिको लागतमा उक्त खानेपानी ट्याङकी सहितको ब्यवस्थापन गरिएको हो ।
रोयल थाइ मोनास्ट्री लुम्बिनी, स्वर्णभूमि फाउण्डेसन, वाटथाई कपिलवस्तु निग्रोधराम नेपाल र नेपाल अर्वुद रोग निवारण संस्थाको सहयोग र सहकार्यमा उक्त बिद्यालयमा खानेपानीको सहज ब्यवस्थापन गरिएको छ ।
रोयल थाइ मोनास्ट्री लुम्बिनीका प्रमुख फ्राश्री बोधीबिदेश (भिक्षु सुपोत), थाई दुतावास नेपालका काउन्सुलर अथ्थापिनी कोङ्गक, नोटकर्न साई नुङ्ग, नोवारत काशेम्पा, कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुनाराम पौडेल, शिक्षा बिकास अधिकृत हरिप्रसाद ज्ञवाली लगायतले खानेपानी ट्याङकीको उद्घाटन गरे ।
बिद्यालयमा लामो समयदेखि स्वच्छ खानेपानीको ब्यवस्थापन नहुँदा बिद्यार्थीहरुलाई असहजता भएको महसुस गरेर उक्त बिद्यालयमा खानेपानीको ब्यवस्थापनका लागि नेपाल अर्बुद रोग निवारण संस्था कपिलवस्तु शाखाका सभापति एवं समाजसेवी राजेश ज्ञवालीको पहलमा बिद्यालयमा पानी ट्याङकी, बिद्युत मोटर, धारा, सहितको आर्कषक ढलानयुक्त संरचनाको निर्माण गरिएको हो । जस्बाट बिद्यार्थीहरुले स्वच्छ र सफा पिउने पानी उपभोग गर्न पाइरहेका छन् ।
हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल अर्बुद रोग निवारण संस्था कपिलवस्तु शाखाका सभापति ज्ञवालीले कपिलवस्तु नगरक्षेत्रका ग्रामीण बस्तीमा रहेको बिद्यालयहरुमा आवश्यक पूर्वाधारहरुको बिकासका लागि निरन्तर लागि पर्ने बताए ।
कार्यक्रममा कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुनाराम पौडेलले बिद्यालय जस्तो पवित्र स्थानमा उदार मनले सहयोग र समन्वय गर्ने संघसंस्थालाई धन्यवाद प्रकट गर्दै नगरपालिका पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा परिणामोन्मूख कार्य गरिरहेको धारणा राखे ।
यसैबीच, बिद्यालयका प्रधानाध्यापक गीता खनालले बिद्यालय र बिद्यार्थीहरुका लागि आवश्यक सहयोग गर्ने सबैप्रति आभार प्रकट गरिन् । बरिष्ठ समाजसेवी ज्ञवालीको पहलमा बिद्यालयमा बिगतदेखि नै सहयोगी सामग्रीको उपलब्धता रहँदै आएको उनले बताइन् ।
समाजसेवी ज्ञवालीको पहलमा यसै बिद्यालयमा यसअघि पनि बिद्यार्थी र अभिभावकका लागि पाठ्य तथा राहत सामग्री बितरण गरिएको थियो । कार्यक्रममा समाजसेवी मुक्तार अहमद खान, बलराम घिमिरे, गंगाधर आचार्य, शिवशंकर कान्दु, सुजाता सुवाल, माया गिरी, शारदा अर्याल, राजन खड्का, बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष, सदस्यहरु, लगायतको उपस्थिती रहेको थियो । प्रधानाध्यापक खनालको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन इन्दिरा देवकोटाले गर्नुभएको थियो ।



