बिजयनगरमा ५२ हेक्टर जंगलमा झाडी सफाइ, ६० स्थानीयलाई रोजगारी

शम्भु बिश्वकर्मा

पौष २७

बिजयनगर गाउँपालिका वडा नम्बर १ अन्तर्गत पर्ने नेवलागन्ज र जवाबैराठ क्षेत्रको जंगलमा झाडी सफाइको काम सुरु गरिएको छ। गौतम बुद्ध साझेदारी बन उपभोक्ता समूहले ५२ हेक्टर क्षेत्रफलमा झाडी सफाइ गर्दै आएको छ।

झाडी सफाइ कार्यबाट करिब ६० जना स्थानीयले रोजगारी पाएका छन्। उपभोक्ता समूहका अध्यक्ष प्रबेज आलम खाँका अनुसार झाडी सफाइको काम करिब एक महिनासम्म चल्नेछ।

अध्यक्ष खाँले झाडी सफाइपछि जंगलमा डढेलो लाग्ने जोखिम कम हुने, नयाँ बिरुवा उम्रने वातावरण बन्ने तथा स्थानीय मानिसले केही समयका लागि भए पनि रोजगारी पाउने बताउनुभयो।

गौतम बुद्ध साझेदारी बन उपभोक्ता समूह र सब डिभिजन बन कार्यालय गुगौलीको सहकार्यमा जंगलको झाडी सफाइ भइरहेको सब डिभिजन बन कार्यालयका रेन्जर टोप बहादुर गुरुङले जानकारी दिनुभयो। उहाँका अनुसार झाडी सफाइले साजो र सालजस्ता बहुमूल्य प्रजातिका बिरुवा छिटो उम्रन र राम्रोसँग बढ्न मद्दत पुग्नेछ।

स्थानीयस्तरमा वन संरक्षण, रोजगारी सिर्जना र वातावरणीय सन्तुलन कायम गर्न यो कार्य महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

4:47 pm प्रकाशित

धेरै पढिएको

ताजा समाचार