कपिलवस्तु
गौतम यादव
पौष १२
कपिलवस्तु जिल्लाको बिजयनगर गाउँपालिका–१ गुगौलीमा मोटरसाइकलको ठक्करबाट एक महिला गम्भीर घाइते भएकी छन्।
हुलाकी सडक खण्ड अन्तर्गत बद्दौरबाट गुगौलीतर्फ जाँदै गरेको यु.पी. ५५ ए आर २४३२ नम्बरको मोटरसाइकलले गुगौली निवासी अन्दाजी २६ वर्षीया रूपा कलावारलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी हुन्।
घाइते कलावारलाई उपचारका लागि बुटवल लगिएको अस्थायी प्रहरी पोस्ट खडैचाका इन्चार्ज खिम बगालेले जानकारी दिनुभएको छ।
मोटरसाइकल चालक बिजयनगर–३ कढिहार बस्ने अन्दाजी १५ वर्षीय अरमान शाह र मोटरसाइकलमा सवार बिजयनगर–५ पिपरीका साहिदे आलमलाई सामान्य चोट लागेको बगालेले जानकारी दिनुभएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


