कपिलवस्तु, १४ माघ
कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा किशोरीलाई पाठेघरकाे मुखकाे क्यान्सर विरुद्धकाे खाेप अभियान सम्बन्धी गाउँपालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले करिब २ हजार १ सय ९७ जना किशोरीलाई एच.पि.भी. खाेप लगाउने जनाए ।
संघीय सरकारले अभियानका रूपमा सञ्चालन गरेको कार्यक्रम अनुसार गाउँपालिकामा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने किशोरीहरुलाई एचपीभी खोप दिइने तयारी भएको उनलेे बताए । विद्यालयमा अध्ययनरत र विद्यालय बाहिर रहेका किशोरीहरु समेत सहभागी हुनेछन् । विद्यालय र स्वास्थ्य संस्थामा खोप केन्द्रको व्यवस्था गरिएको उनलेे बताए ।
पाठेघरको क्यान्सर न्यूनीकरणका लागि किशोरीहरूलाई लक्षित गरी एचपिभी खोप अभियान सुरु गर्ने भएको छ । यो अभियान माघ २२ देखि फागुन ६ गतेसम्म विद्यालय तथा खोप केन्द्रबाट सञ्चालन हुने जनाएको छ ।
गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले कार्यक्रमलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् । उनले सबै सरोकारवालाले पहल गर्नुपर्ने बताउँदै विद्यालय र पालिका स्तरका स्वास्थ्य शाखा, कर्मचारी र जनप्रतिनिधिहरुले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जाेड दिए ।
कार्यक्रममा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी लगायतकाे उपस्थिति थियोे ।


