लुम्बिनी विकास कोषको ध्यान नपुग्दा रामग्रामले बनायो स्तूप विकास कोष ऐन

लोमो समयदेखिको पर्खाइ पछि रामग्राम नगरपालिकाले रामग्राम स्तूप विकासका लागि नेतृत्व लिने तयारी गरेको छ । बुद्धको परिनिर्वाणपश्चात् विभिन्न राजाले बनाएका आठ स्तूपमध्ये सिङ्गो अस्तु भाग रहेको रामग्राम स्तूपको छुट्टै महत्व भए पनि ओझेलमा परेको छ । लुम्बिनी विकास कोषको अधिनमा रहेको यस स्तूपको विकासमा चासो दिनुपर्नेमा लुम्बिनीमै मात्र सीमित रहेर कोषले काम गरेकाले नगरपालिकाले रामग्राम विकास कोष ऐन तयार पारेर नेतृत्व आफैले लिने जानकारी गराएको छ ।

बुद्ध धर्मावलम्बीहरुले रामग्राम स्तूपमा ध्यान र अवलोकन गर्न दिनहुँ आउने गरेका छन् । यहाँ थाइल्यान्ड, श्रीलङ्का, भेतनाम, कोरिया, जापान चीन र भारतका पनि बुद्धमार्गीहरू आउने गरे पनि यो स्तूपको विकासमा ध्यान नदिएकाले स्तूप ओझेलमा परेको स्थानीयवासी शम्भु उपाध्यायले बतउनुभयो । पर्यटकहरु स्तूपमा त आउँछन् तर बास बास्नका लागि कुनै व्यवस्था छैन न त खानेपानीको व्यवस्था रहेको उहाँको गुनासो थियो

रामग्राम स्तूप पुरात्तात्विक स्थल भएकाले कुनै पनि संरचना बनाउनु अघि उक्त कोषलाई जानकारी गराउनुपर्ने बाध्यता रहेको नगरपालिकाका प्रमुख धनपत यादवले बताउनुभयो । कोषले न त रामग्राम स्तूपमा केही काम गर्छ न त यस नगरपालिकालाई गर्न अनुमति दिन्छ जस्का कारण रामग्राम स्तूप विकासको पर्खाइमा रहेको उहाँको गुनासो थियो ।

विकास नभएकै कारण ठूलो महत्वको यस स्तूप खासै व्यवस्थित नभएकाले नगरपालिकाले नै कार्यविधि बनाएर रामग्राम विकास कोष ऐन १२औँ नगरसभाबाट पास गराएको नगरप्रमुख यादवले बताउनुभयो । उक्त ऐन कोषको ऐनसँग बाझिए परिमार्जित गरी सहकार्य गरेर अगाडि बढ्ने पनि उहाँले जानकारी गराउनुभयोे ।

कोषका सदस्यसचिव सानुराजा शाक्यले रामग्रामले बनाएको ऐनका बारेमा जानकारी नभएको बताउनुभयो । उहाँले कोष रामग्राम स्तूप विकासका लागि प्रयासरत रहेको उल्लेख गर्नुभयो । हाल कोषले रामग्राम स्तूप विकासका लागि गुरुयोजनाबमोजिम नेपाल सरकारसँग स्रोत उपलब्ध गराउन अनुरोध गरेको सदस्यसचिव शाक्यको भनाइ थियो। रामग्राम स्तूपमा २६ बिघा जग्गा कोष तथा पुरातत्व विभागबाट अधिग्रहण गरिए पनि करिब तीन÷चार सय बिघा अधिग्रहण गर्न आवश्यक देखिएको उल्लेख गर्दै उहाँले कोषबाट उक्त स्तूपमा तीनजना कर्मचारी (सेक्युरिटी गार्ड) राखिएको, अहिलेसम्म यहाँको उत्खनन, पूजा (प्रार्थना) गर्ने स्थल, स्तूप परिक्रममाका लागि काठको हिँड्ने बाटो र ट्वाइलेट निर्माणलगायत काम भइसकेको जानकारी गराउनुभयो ।

4:36 pm प्रकाशित

धेरै पढिएको

ताजा समाचार