एजेन्सी, मुम्बई : सन् २००१ को सुपरहिट बलिउड फिल्म ‘गदर’को २२ वर्षपछि सिक्वेल निर्माण भएको छ । आगामी ११ अगस्टमा प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेट २ सेकेण्ड लम्बाईको टिजर इमोसनसँगै एक्सन प्याक्ड देखिन्छ । पहिलो श्रृंखला तारा सिंह र सकीनाको वरिपरि घुमेको थियो । सिक्वेलको कथा भने उनीहरुको छोरामा केन्द्रित रहेको ट्रेलरले संकेत गर्छ ।
ट्रेलरमा बुबा र छोराको सम्बन्धलाई देखाउन खोजिएको छ । फिल्मले सन् १९७० मा भारत-पाकिस्तान युद्धको परिवेशलाई प्रस्तुत गरेको छ । भारतीय सेनामा भर्ती भएर पाकिस्तानी सेनाको कब्जामा परेको छोरालाई बचाउन तारा सिंहले गर्ने संघर्षलाई ट्रेलरलाई देखाइएको छ । पहिलो श्रृंखला तारा सिंहले पाकिस्तानमा पुगेर श्रीमती सकीनालाई फिर्ता ल्याउन गरेको संघर्षमा आधारित थियो ।
पहिलो श्रृंखलामा मेयर अशरफ अलीको भूमिका निर्वाह गरेका अमरीश पुरीको निधन भैसकेका कारण सिक्वेलमा मनीष वाधवा र रोहित चौधरीले भिलेनको भूमिकामा निभाएका छन् । तारा सिंहको भूमिकामा सनी देओल र सकीनाको भूमिकामा अमीषा पटेल छन् । उनीहरुको छोराको भूमिका उत्कर्ष शर्माले निभाएका छन् । ‘गदर’मा उनले बाल कलाकारको रुपमा अभिनय गरेका थिए ।
२००१ मा आमिर खान अभिनीत फिल्म ‘लगान’सँग बक्स अफिसमा भिडन्तका बावजूद ‘गदर’ले त्यसबेला विश्वभर १ सय ३२ करोड ६० लाख कमाएको थियो । भारतीय बक्स अफिसमा मात्र फिल्मको कमाई ७६ करोड ६५ लाख रहेको थियो । फिल्ममा समावेश ‘मैं निकला गड्डी लेके’ र ‘उड़जा काले’ गीत अहिले पनि उतिक्कै लोकप्रिय छन् । ‘गदर २’लाई अनिल शर्माले निर्देशन गरेका हुन् ।